दैलेख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा दैलेखले रसुवामा विपत्तिमा परेका नागरिकहरूको खोज, उद्धार तथा राहतमा कुनै कसर बाँकी नराखेर काम गर्न आग्रह गरेको छ । रसुवाको बाढीमा हराई रहेका हरुको खोजी कार्य सरकारले गरिरहेको छ । अझैँ कुनै कसर बाँकी नराखेर लेदोले पुरिएका र बगेका नागरिक को खोजी र उद्धारका लागि काम गर्न बैठकले सरकारलाई अनुरोध गरेको हो ।
यही भदौ १० गते भोटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो जनधनको क्षति पुगेको र पुरै राष्ट्रलाई कमजोर बनाउने गरी निम्तिएको महाबिपद्को सामना गर्न आम नेपालीहरू र वैदेशिक निकायहरूले सहयोग गरिरहेको र जिल्ला कार्यसमिति दैलेखले पनि वडा र पालिका स्तरबाट राहत सङ्कलन गरेर एकमुष्ट प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको दैलेखका सभापति बखत भण्डारीले जानकारी दिएका छन् ।
बैठकले मृतक प्रति श्रद्धाञ्जली, घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेको छ । कतिपय वडाहरू र महावु गाउँपालिकाको अधिवेशन समेत तत्कालै सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।
पार्टीले पहिलो चरणमा गाउँपालिकाका लागि उम्मेदवार छनौट प्रक्रिया अन्तर्गत क्यान्डिडेट क्लबमा भाग लिन पार्टीले आह्वान गरे बमोजिम अन्लाईन फर्म मार्फत पार्टीले तोकेको मापदण्ड पुगेका सबैले विवरण भर्न सुझाव दिइएको जिल्ला सचिव रमेश केसीले जानकारी दिएका छन् ।











